काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशिने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल चेक)लाई वस्तुनिष्ठ तथा वैज्ञानिक बनाउनेबारे अध्ययन समिति गठन गरेको छ ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने र राम्रो परीक्षण नहुँदा विदेश पुगेर श्रमिक पीडित हुनुपर्ने अवस्था बढ्दै गएपछि मन्त्रालयले एक विज्ञ समिति गठन गरेर सुझाव मागेको हो ।
१३ भदौको मन्त्रिस्तरीय निर्णयानुसार वैदेशिक रोजगार नियमावली, २०६५ को दफा ४६ बमोजिम डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा विशेषज्ञ चिकित्सकहरु सम्मिलित १६ सदस्यीय कार्यदल गठन भएको हो ।
श्रमिकको स्वास्थ्य प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बनाएर विद्यमान जनगुनासो र समस्यालाई व्यवस्थित गर्न समिति गठन गरिएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए ।