काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित दुवै सभापतिले पद तथा गोपनियताको शपथ लिएका छन्।
सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसाकुमारी दाहाललाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
दुई समितिमा सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो। विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा नेकपा एमालेका सांसद हुन् भने मायाप्रसाद शर्मा माओवादी केन्द्रका सांसद हुन्।
विधायन व्यवस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्ती राई र तुलसाको उम्मेदवारी परेको थियो। कुल १५ मतमध्ये तुलसाले आठ र जयन्तीले सात मत प्राप्त गरेका थिए। त्यस्तै, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी थियो।