काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेसीशहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको छ ।
‘ग्याँस इन्सुलेटेड सबस्टेशन (जीआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेशनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहेका छन् । सबस्टेशनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मर लगायतका उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको छ । १३२ केभी सबस्टेशनलाई भने सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत् प्राधिकरण र हिमालयन पावर पार्टनरबीचको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको बिजुली यही सबस्टेशनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित बिजुली प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेशनमा जोडिने छ ।
उदीपुर सबस्टेशनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत् र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको बिजुलीलाई उदीपुर सबस्टेशनलाई बाइपास गरी मध्यमर्स्याङ्दी विद्युत् गृहको स्विचयार्डमा जोडिएको थियो । सबस्टेशन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई यही सबस्टेशनभित्र छिराएर मध्यमर्स्याङ्दीको स्विचयार्डतर्फ बिजुली प्रवाह गरिने छ । त्यसपछि मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी प्रसारण लाइन हुँदै बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेशनबाट ३३ केभी लाइनमार्फत स्थानीय रूपमा समेत बिजुली आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको बिजुली आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरू गरिएको हो । प्रसारण लाइनबाट झन्डै एक हजार ६ सय मेगावाट बिजुली प्रवाह गर्न सकिने छ ।
आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन वटा प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।
पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेशनसम्मको झन्डै ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेशन निर्माण सम्पन्न भएको छ । तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)– खुदी–उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेशन निर्माणाधीन छन् ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत झन्डै १६ अर्ब रुपैयाँ छ ।