काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई ‘उत्कृष्ट स्थानीय शासन पुरस्कार २०२४’ बाट सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहकाबीच ‘एसियन प्रेफेसनल एचिभमेन्ट अवार्ड’ कार्यक्रममा सिजन मिडियाले अध्यक्ष चुमानलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सम्मान गरे ।
सम्मानित भएपछि अध्यक्ष चुमानले सिङ्गो पालिकाको विकासमा थप जिम्मेवार भएर लाग्ने जिम्मेवारी थपिएको बताए । यसअघि अध्यक्ष चुमान अनलाइनखबर डटकमले १२ अगष्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा सार्वजनिक गरेको नेपालका ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ को सूचीमा प्रभावशाली युवामा परेका थिए ।
चुमान तनहुँका १० पालिकामध्ये माओवादीबाट प्रमुख जित्ने एक मात्र व्यक्ति हुन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहले नै प्रशंसा गर्ने गरी चुमानले काम गरिरहेका छन् । जनताको जीवनलाई केन्द्रमा राख्दै स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर उनी काम गरिरहेका छन् । चुमानले आफू अध्यक्ष भएपछि नै पालिकाको आफ्नै अस्पताल मात्रै चलाएनन्, पालिकास्तरमै डायलाइसिस गर्ने देशभरिकै पहिलो गाउँपालिका बन्यो ।
पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्ने मानिसहरूले रोकिएर पिसाब फेर्ने र मानिसहरूले दिल बहलाउने ऐना पहरामा चुमानले सिर्जनशील काम गरेर चकित पारिदिएका छन् । विद्यालय मर्ज गरेर टाढाका विद्यार्थीलाई अर्को विद्यालयसम्म पु¥याउन पालिका आफैंले बस चलाए भने ग्रामीण क्षेत्रका विद्यार्थीका लागि जीपको व्यवस्था गरेका छन् ।
सामुदायिक विद्यालय निजीभन्दा कम छैन भन्ने उदाहरण शुक्र नेतृत्वको पालिकाले पेश गरिरहेको छ । सयपत्री फूल पहिलो पटक कतार निर्यात गरेको आँबुखैरेनीले गुजारा चलाइरहेका किसानलाई करेसाबाट व्यावसायिक कृषितर्फ उन्मुख गराइरहेको छ । उनले पालिकामा हाटबजारको सुरुवात गरेका छन् ।
कृषि उत्पादन र पर्यटनलाई जोडेका शुक्रले छिम्केश्वरी, आँधीमुल जस्ता ठाउँलाई चम्काउन जुटिरहेका छन् । मर्स्याङ्दीमा मोटरबोट चलाएर पर्यटकलाई जलविहार गराएर आन्तरिक स्रोत समेत बढाइरहेका छन् । बाँस र फलामको सामग्री उत्पादनलाई औद्योगिक ग्राममा बदल्दै छन् जुन पूर्ण रूपमा सुरु हुँदा कम्तीमा १०० जनाले जागिर पाउने छन् ।