काठमाडौं । धनुषा प्रहरीको हिरासतबाट ९ जना फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज बिहान ९ जना थुनुवा फरार भएका छन्।
बिहान करिब सवा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ९ जना फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एक हिरासत कक्षमा रहेका १० जना थुनुवामध्ये भेन्टिलेशन फोडेर सबै निस्किएर भागेपनि १ जनालाई प्रहरीले पक्राउ गरेको स्रोतको भनाई छ। हिरासतबाट फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्तहरु थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन्। थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए। थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको छ।