काठमाडौं । नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तराई मधेश र देशभरका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयारी गर्न आग्रह गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर जाडेको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेशसहित देशभरका विपन्न वस्ती र परिवारलाई बढी पीडा दिने गरेकाले पूर्वतयारी गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री ओलीलाई बुझाएको ध्यानाकर्षणपत्रमा गत ११ र १२ असोजमा आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुलीलगायत जिल्लाका धेरै बस्ती डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकालाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्था लाग्नुपर्ने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षणपत्रलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा सम्बोधनका लागि तत्काल पठाइने बताउँदै विपद्को पूर्वतयारी र विपद्पछिको खोज र उद्धारमा लाग्नुपर्नेमा जोड दिए ।