काठमाडौं । लगातार १०५.९९ अंकले घटेपछि बुधबार वृद्धितर्फ देखिएको सेयर बजार बिहीबार पुन: घटेको छ। गएको साताको अन्तिम दुई दिनको कारोबार र यो साता लगातार तीन कारोबारमा ओरालोतिर लागेको बजारमा बुधबार बल्ल हरियाली देखिएकोमा बिहीबार ओरालोतिर नै लागेको हो।
गएको साता बुधबार २४.९७ अंक र बिहीबार १५.९३ अंकले घटेको बजार यो साता पनि पहिलो तीन कारोबारमा नै ओरालोतिर लागेको थियो। यो साता आइतबार ४५.९३, सोमबार १२.८४ र मंगलबार ६.३२ अंकले बजार घटेको थियो। साताको चौथो कारोबारमा बुधबार ४५.८८ अंकले बढेको बजार बिहीबार पुन: घट्यो।
बिहीबार ३३.४२ अंकले घटेर बजार २६८२.२९ बिन्दुमा झरेको छ। ४० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। २०४ कम्पनीको सेयर मूल्य घटेको छ।