काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार कार्तिक मसान्तसम्ममा विप्रेषण आप्रवाह ९ दशमलव १ प्रतिशतले बढेको छ ।
तथ्यांकअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सुचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव ६० प्रतिशत रहेको छ । आयात ० दशमलव २ प्रतिशतले बढ्दा निर्यात ४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, शोधानान्तर स्थिति २०५ अर्ब ८३ करोडले बचतमा हुँदा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको खर्च ४ खर्ब १५ अर्ब २ करोड हुँदा राजस्व परिचालन ३ खर्ब २३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । चार महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २ दशमलव ३ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ५ प्रतिशतले बढेको छ ।