काठमाडौं । सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।सरकारी वकिलको कार्यालयले आज पोखराको सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले जानकारी दिएका छन् । थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसँगै कुल बिगो एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।
थप अभियोग दर्ता भएका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई हुन् ।
यस्तै पूर्व सचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, छवि जोशीसहित नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध भने मुद्दा दर्ता भएको छैन ।
उनीहरुविरुद्ध आइतबार मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।
सुरुमा पक्राउ पुर्जी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।