काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
विश्वविद्यालयका सूचना अधिकारी शान्ताकुमारी नेउपाद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको छ ।
विश्वविद्यालयले उद्देश्यअनुसार काम गर्दा कुनै कमी कमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाउँदै शुक्रबार कार्यालय समयमा नियमित विश्वविद्यालयको सेवामा कार्यरत कर्मचारीहरूलाई आतंकित गर्दै शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट भएको तोडफोड क्षम्य नहुने अपराध भएको जनाएको छ ।
सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न हुन नसकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको विश्वविद्यालयले जनाएको छ ।