काठमाडौं । उच्च अदालत पोखरा बागलुङ इजलासको निर्माणाधीन उच्च अदालतको भवन ९० प्रतिशत सम्पन्न भएको छ । साढे छ तला आधुनिक र पूर्ण आपाङ्गतामैत्री भवनमा रङरोगनको काम भइरहेको छ ।
अदालतको भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । विसं २०७९ मङ्सिर १६ गते ३० महिनामा सम्पन्न गर्नेगरी ५७ करोडमा ठेक्का सम्झौता भएको थियो ।
उक्त भवन गण्डकी प्रदेशको नमुनामध्येमा पर्ने उच्च आदलत पोखरा बागलुङ इजालसले जानाएको छ । दुई वटा विद्युतीय भ¥यायाङसहित नमुना भवनको हालसम्म ९० प्रतिशत भौतिक र ८० प्रतिशत आर्थिक प्रगति भएको इजालसका रजिष्ट्रार रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसार निर्माण भइरहेकाले निर्धारित समयभित्रै भवन हस्तान्तरण गर्ने निर्माण व्यवसायीले कार्यतालिका पेस गरेका छन् ।
भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गरिनुका साथै दिन र रातमा दुई चरणमा काम भएकाले समय सीमाभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।
निर्माण व्यवसायीको प्रतिनिधि महेन्द्र पौडेलका अनुसार समयभित्रै काम सक्न कम्पनीका प्रतिनिधि र कामदारले दैनिक १२ घण्टा काम गरिरहेका छन् ।
उच्च अदालतले हाल जिल्ला अदालतको भवनबाट सेवा दिइरहेको छ । निर्माणाधीन सो भवनमा छ वटा अत्याधुनिक इजलास कक्ष रहनेछन् । अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह, न्यायाधीस, रजिष्ट्रार र कर्मचारी आवाससमेत गरी तीन ब्लकमा निर्माण गरिएको छ ।
सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त भवन प्रविधिमैत्री, अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधीका साथै साविक धौलागिरि अञ्चलका चार जिल्लामध्ये सबैभन्दा ठूलो र आधुनिक हुने सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ