काठमाडौं । ध्यमिक शिक्षा परीक्षा-एसईई आजदेखि सुरू हुँदैछ ।
आज बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
एसईईमा यस वर्ष पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् भने देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने छन् ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ । यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसईई परीक्षा दिने र काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।
यस वर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्ष सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय विद्यार्थी र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिने भएका छन् ।
यस वर्षको एसईई आजदेखि सुरु भएर चैत १९ गते सम्पन्न हुनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।