काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत् १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत् आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए ।
‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भनेपछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरेका हौं’, कार्यकारी निर्देशक मल्लले भने ।
हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रतिबालबालिका दुई लाख ५० हजार सहायता दिँदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस वर्षको पुस महिनासम्म ४८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । ‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोऊन् भन्ने हाम्रो चाहना हो’, मन्त्री पौडेलले भने, ‘यसका लागि थप स्रोतको खोजीसमेत गरिनेछ ।’