काठमाडौं । शुक्रबार सिनेमाहलमा दुई नेपाली फिल्म प्रदर्शन भएका छन्। आजबाट एक्सन नेपाली फिल्महरु ‘कर्मा’ र ‘पिताम्बर’ हलमा लागेका हुन्। यी दुवै वर्षको अन्त्यमा रिलिज भएका हुन्।
रिलिज अगावै राम्रो हाइप भएका कारण दुवै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सक्ने विश्वास गरिएको छ।
जसमध्ये शुक्रबारको लागि प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले आज उच्च शो पाएको छ। पहिलो दिनका लागि देशभर १७० शोसहित रिलिज भएको हो। त्यस्तै, विपिन कार्की स्टारर ‘कर्मा’ ले भने १५० शो पाएको छ।
सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’मा विपिनसहित उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ। ‘कर्मा’ को कथा निर्देशक चौधरी आफैँले लेखेका छन्।
त्यसैगरि, कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ प्रदीपसहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतको अभिनय छ।