काठमाडौं । सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरू कारबाहीमा परेका छन् । चार जना प्रहरीहरूले एक जना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनले भने, ‘सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यमहरूमा आएपछि हामीले खोजीनीति गर्यौँ र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको र आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ ।’
प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मङ्सिर २३ गते सुन्धारास्थित आकाशे पुलमुनि भएको पाइएको छ । ती प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।