काठमाडौं । लमजुङ प्रदेश अस्पतालले दिएको औषधिका कारण एक बिरामीको ‘स्वास्थ्य अवस्था गम्भीर’ बनेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा अस्पतालले उपचारमा कुनै त्रुटि नभएको, र बिरामीमा अत्यन्तै दुर्लभ ‘साइड इफेक्ट’ देखिएको स्पष्टीकरण दिएको छ।
पोर्चुगलमा रहेकी निर्मला श्रीले आफ्ना बुवा बेसीशहर-८ का दिलबहादुर दमाईलाई अस्पतालले कोलेस्ट्रोलको गलत औषधि दिएका कारण अनुहार र संवेदनशील अङ्गमा गम्भीर असर परेको दाबीसहित भिडियो सार्वजनिक गरेकी थिइन्।
उक्त भिडियोमा दिलबहादुरको शरीरभरि कालो धब्बाजस्ता दागहरू र फोका देख्न सकिन्छ। निर्मलाले आफन्तको सहयोगमा प्राप्त भिडियो सामाजिक सञ्जालमा राखेपछि अस्पताल प्रति तीव्र आलोचना भइरहेको छ। यस विषयमा अस्पतालले बिरामीलाई गलत औषधि नभई, दिइएको औषधिको ‘साइड इफेक्ट’ देखिएको बताएकाे छ ।