नेकपा एमालेको भगिनी संगठन अनेरास्ववियुको महाधिवेशनको मिति नजिकिँदै गर्दा माहोल ताँतेको छ । लगातार ७ वर्ष अधिवेशन नभएको अखिलमा यसपाली चुनाव हुने भएपछि चुनावी सरगर्मी बढेको हो ।
हालसम्म प्रतिनिधि छनोट टुंगिसकेको छ भने प्रतिनिधिहरु विस्तारै काठमाडौं आउने क्रम पनि जारी छ । अनेरास्ववियुको नेतृत्वको विषयलाई लिएर मूल पार्टी नेकपा एमालेमा समेत चासो र सरोकार बढेको छ । प्रस्तुत छ यिनै विषयमा स्थायी कमिटीका उम्मेदवार किरण वि.क सँग गरिएको कुराकानी ।
महाधिवेशनको तयारी कस्तो छ ?
प्रतिनिधि छनोट टुंगी सकेको छ । करिब १७०० को हाराहारीमा प्रतिनिधिहरु छन् । तिनीहरुको व्यवस्थापनमा विभिन्न समिति, उपसमितिहरु काम गरिरहेका छन् । लेवी र दायित्वहरु उठाउने कामहरु भैरहेको छ ।
कतिपय उम्मेदवारले त भोट पनि माग्न सुरु गरिसके । लामो ग्यापपछि महाधिवेशन हुन लागेकोले पार्टी, विद्यार्थी, र पूर्व नेताहरु, प्रतिनिधि सबैमा उत्साह छ ।
किन यति लामो ग्याप रह्यो २३ औं महाधिवेशनसम्म आउनको लागि ?
२२ औं महाधिवेशनले नविना लामालाई अध्यक्ष निर्वाचित गरेको थियो । उहाँ सांसद भएर बिदा भएपछि ऐन महर संयोजक हुनुभयो । उहाँकै पालामा अधिवेशन हुनुपर्ने थियो । तर माओवादीसँग पार्टी एकता भो र संयोजक सहसंयोजक मात्र बनाइयो । पार्टी एकताको ३ वर्ष महाधिवेशन हुन सकेन । पार्टी फुटेपछि अखिल पनि फुट्यो र फेरि ऐन महर अध्यक्ष हुनुभयो ।
त्यसपछिको नेतृत्व पनि सहमतिमा आएकोले अधिवेशन हुन सकेको थिएन । यसरी ७ वर्ष ग्याप रहन गयो । ७ वर्षको ग्यापले नेतृत्वमा जाम गरेको छ । त्यसको असर देखा परिसकेको छ । यस २३ औं महाधिवेशनले नेतृत्वको जाम खोल्ने र संगठन पनि शुद्धीकरण हुने अपेक्षा छ ।
यस पटक नयाँ नेतृत्व कसरी आउँछ ? चुनाव कि पार्टी हेडक्वार्टरबाट ?
महाधिवेशननै हुने हुनाले चुनावबाटै नयाँ नेतृत्व आउँछ । पार्टी हेडक्वार्टरबाट आउने भा आइसक्थ्यो । छनोट गरिएको कमिटीको फ्रर्मेन्स भएन भन्ने हेडक्वार्टरको मुल्यांकन छ ।
आकांक्षी बढी भएकाले सहमतिको सम्भावना देख्दिन । पार्टीका नेताहरुलाई पनि मिलाउन गाह्रो छ । सहमतिय प्रणालीले नै हालको संकट निम्त्याएकोले चुनाव हुँदा नै संगठनलाई फाइदा छ । सहमतिय प्रणालीले नेताहरु बिदा गर्नै सकेन । सहमतिय प्रणालीले तहहरु निर्माण गरेर मिलिजुली बस्ने समस्या देखायो । यसको अन्त्यको लागि पनि चुनाव अनिवार्य हो । मेरो जोड पनि चुनाव होस भन्नेमै छ ।
तपाईले कसको नेतृत्व आउने देख्नु हुन्छ ?
मैले आम प्रतिनिधिको मनोविज्ञान हेर्दा आदरणीय कमरेड आरसी लामिछानेले सोलिड जित्ने देख्छु । उहाँ बहुप्रतिक्षित नेता हो । आम प्रतिनिधिहरु एकपटक उहाँको कमाण्डमा अनेरास्ववियु हाँकेको देख्न चाहन्छन । नेतागणहरु पनि एउटा होल टाइमर कार्यकर्ता जसले अरु केहि नभनी आफ्नो उमेर, यौवन, जीवन सारा गुमाएर अखिल भनेरै बसेको छ उसलाई अन्याय नगरौं भन्नेमा छन् । सर्वसम्मत होस वा निर्वाचन महाधिवेसन हलबाट आरसी लामिछाने कमरेड अध्यक्ष बन्नु हुनेछ । सचिव, महासचिवमा, उपाध्यक्ष, आयोगहरुमा पनि तीव्र प्रतिस्पर्धा छ ।
तपाईको उम्मेद्वारी के मा हो ?
अहिले म केन्द्रीय सदस्य छु । म विधान अनुसार स्थायी कमिटीको उम्मेदवार हो । कमरेड आरसीलाई अध्यक्षमा जिताउने र म पनि स्थायी कमिटी जित्ने दुवै लक्ष्यका साथ अघि बढिरहेको छु ।
तपाइका एजेण्डाहरु के–के हुन ?
प्रथमतः मेरो एजेण्डा नियमित महाधिवेशन हो । महाधिवेशन रोकिनाले धेरै समस्या देखा परेको छ । त्यसपछि क्रमसः अनिवार्य ५० % महिला सहभागिता , शैक्षिक संस्थाहरुमा हुने यौन दुव्र्यवहार विरुद्धको बुलन्द आवाज, पारदर्शी अखिल, कमिटी प्रणालीको पुनस्र्थापना, वर्षमा ४ वटा केन्द्रीय कमिटी बैठक, स्कलरसिप बढोत्तरीको माग आदी मेरा एजेण्डा हुन् ।
अर्को हालसम्म अखिलले नदेखेको विषय भनेको यौनिक अल्पसंख्यक विद्यार्थीकोहरु सरोकार पनि हो । मैले यौनिक अल्प संख्यकहरुलाई कमसे कम दुई वटा केन्द्रीय सदस्य माग गरेको छु ।