काठमाडौं । उच्च अदालतले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यो सँगै प्रहरीले अब पत्रकार दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ गर्न नपाउने भएको छ।
यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले बिहीबार दुवै पक्षको सुनुवाइपछि सो आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार यो आदेशलाई निरन्तरता दिएको हो ।
सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गर्नु नपर्ने पनि उच्च अदालतको आदेशमा उल्लेख छ।