काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित बाफलमा रहेको एक मेडल तथा स्टिकर गोदाममा आज बिहान भीषण आगलागी भएको छ। स्थानीय राजेन्द्र उदासले सञ्चालन गर्दै आएको उक्त गोदाममा बिहान करिब ३ः२० बजे विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आगो लागेको खबर पाएपछि बालाजु दमकल, जुद्ध वारुण यन्त्र (न्युरोड), नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बलको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक नीर कुमार कार्कीको नेतृत्वमा खटिएको ३५ जना सुरक्षाकर्मीको टोलीले संयुक्त प्रयासमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा ल्याएका हुन्।
गोदाममा रहेका मेडल, स्टिकर, कच्चा पदार्थ र अन्य सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। हाल क्षतिको यकिन विवरण संकलनको काम भइरहेको भए पनि प्रारम्भिक अनुमान अनुसार आगलागीले लाखौं रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको बताइएको छ।