काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार (असार १५ र १६) पश्चिम नेपालका विभिन्न १२ जिल्ला भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ।
प्राधिकरणका प्रवक्ता सुरेन सुनारका अनुसार जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षाको सम्भावनासहित विशेष बुलेटिन जारी गरिसकेको छ। सोही आधारमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न भूभागलाई उच्च जोखिममा राखिएको उनले बताए।
अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही स्थानमा भारी वर्षा भएको छ। हाल देशभर मौसम बदली रहेको र केही ठाउँमा वर्षा भइरहेको बताइएको छ।
विभागका अनुसार असार १६ सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि अतिभारी वर्षा हुन सक्ने सम्भावना औँल्याइएको छ। प्राधिकरणले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।