काठमाडौं । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आइतबार खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।
यस दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास
मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।
असारमा कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अरु पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कनु र विदश जानुुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।
गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।
सरकारले धानलगायत बालीको उत्पादन वृद्धि गरेर आत्मनिर्भर बन्ने बताइरहँदा चालु आवको ११ महिनामै करिब ३९ अर्बको धान–चामल आयात भएको छ।
सरकारले आइतबार ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित २२औं राष्ट्रिय धान दिवस मनाइरहँदा चामल आयातको तथ्यांकले भने सरकारी नीतिलाई गिज्याइरहेको छ। भन्सार विभागका अनुसार चालु आव २०८१÷८२ को साउनदेखि जेठसम्म ३८ अर्ब ९४ करोड २८ लाख ६७ हजार रुपैयाँको धान, चामल आयात भएको हो।
यो वर्ष अमेरिकाबाट करिब २१ करोड १५ लाख रुपैयाँको मसिना चामल आयात भएको छ। त्यसैगरी फिलिपिन्स, थाइल्याड, जापान, इन्डोनेसिया, इटाली, बेलायत, अमेरिका, नाम्बियालगायत मुलुकबाट पनि चामल आयात भएको छ।