काठमाडौं । रौतहटको चर्चित इँटाभट्टा घटनामा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम अदालतबाट सफाइ पाए पनि त्यसको विवादले गहिरिँदै गएको छ। अब, सो घटनासँग प्रत्यक्ष जोडिएका एक पीडित गौरीशंकर राम चमार पहिलोपटक सार्वजनिक भएका छन्।
भारतको बिहार राज्यको सीतामढी घर भएका ४३ वर्षीय गौरीशंकर आइतबार रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भई आफूमाथि भएको घटनाको विवरण सार्वजनिक गरे। उनले आफू इँटाभट्टामा बम विष्फोटमा घाइते भएको प्रत्यक्ष साक्षी भएको दाबी गरे।
“म आफैँ बममा पड्किएको मान्छे हुँ”
गौरीशंकरका अनुसार उनी २०६४ साल चैत २७ गते अफ्ताब आलमकै इँटाभट्टामा काम गर्थे। निर्वाचनको अघिल्लो दिन पैसा लिन जाँदा इँटाभट्टाको घरभित्रै बम बनाउने काम भइरहेको थियो। त्यही क्रममा बम विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए।
“बम पड्किएपछि आगो लाग्यो। भागेर पानी खन्याएँ, तर अनुहार, घाँटी, छाती जलेको थियो। दुवै कान उड्यो,” उनले पत्रकार सम्मेलनमा भने।
उक्त इँटाभट्टा काण्डमा अफ्ताब आलममाथि मानिसलाई बम बनाउने क्रममा घाइते बनाएर जिउँदै जलाएको आरोप लागेको थियो। तर उच्च अदालत वीरगन्जले पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो। फैसलामा बम पड्किएको पुष्टि हुन नसकेको उल्लेख छ।
तर गौरीशंकरले भने अदालतको फैसला आफू जस्ता पीडितको बेइज्जती भएको बताएका छन्। “मैले आफैं बमको चोट भोगेको छु। म घाइते छु, बाँचेको छु। अदालतले त्यस्तो मान्छेलाई सफाइ दिएर हामीमाथि अन्याय गर्यो,” उनले आक्रोश पोखे।
गौरीशंकरले उपचारमा तीन महिनासम्म भारतमा उपचार गरेर साढे ३ लाख भारतीय रुपैयाँ खर्चिएको बताए। तर उनले अफ्ताब आलम वा उनका मान्छेहरूले कहिल्यै हालचाल नसोधेको, बरु धम्की दिएको पनि आरोप लगाए।
“उसका मान्छेले मेरी आमालाई भने, तेरो छोरा बाँच्छ जस्तो छैन। अहिले पनि म डराइरहेको छु,” उनले भने।
गौरीशंकरले सरकार र न्यायपालिकासँग अफ्ताब आलमको सफाइको पुनरावलोकन गर्न माग गरेका छन्। “हामी गरीब मान्छे, न्याय पनि पाइँदैन भने कहाँ जानु?” उनले भने।
गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार। ने
पाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा भएका थिए। उनले बताएअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो। त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए। बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो।
उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ। उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ। उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेका उल्लेख छ। तर, सो घटनामा परी बालबाल बाँचेका गौरीशंकर भने बम पड्किएको बताउँछन्। प्रस्तुत छ उनले सो घटनामा आधारित भएर दिएको अभिव्यक्तिको
सम्पादित अंशः
म रौतहटको राजा ईटाभट्टामा काम गर्दैथिए। हप्ताको दिन थियो। पैसा लिन मलाई बोलाएर लिएर गयो। हामी तीन जना थियौं। मलाई भन्यो- भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ। घरको ढोकाको छेउमा पुगेको बम पड्कियो। आगो लागेपछि म भागेँ।
घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ। फेरि म भागेँ। त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा। आँखा खुलेपछि मैले आमालाई सोधे– कहाँ हो यो ? आमाले भन्नुभयो- यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु। केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई।
त्यसपछि मेरो आँखा फेरि बन्द भयो। मेरो इलाज (उपचार) तीन महिनाजति भयो। मलाई साढे ३ लाख आईसी .(भारतीय रुपैयाँ) खर्च भयो। अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन। सोधेको पनि छैन। आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन। त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो।
निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्पोट भएको थियो। अफताब आलमको काकाको घरमा। मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन। दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ। कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन। होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने।
त्यहाँ बम विष्पोट भएको छ, मलाई बम लागेको छ। अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु। मलाई त्यसैमा बम लागेको छ। अरु मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन। इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्पोट गराएको त मैले भन्न सक्दिनँ। तर, उसैको घरमा भएको छ।
सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो। म घरमा नहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब। तिम्रो छोरा दुई÷चार साल वितेपछि बाँच्दैन। अफ्ताब आलमको मान्छे गएर भनेको छ। मलाइ धम्की दिएको छ।
अफ्ताब आलाम आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ। मलाई मार्छ, त्यस्तो मलाई लागेको छ। अब मलाई डर भयो। मेरो शारीरिक अवस्था नाजुक छ। काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ। म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ। (रुँदै) कसरी बाँचौं म यो दुनियाँमा।