म्याग्दी । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भीरबाट खसेको ठूलो पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ। पहिरो थुप्रिएर नदीमा अस्थायी रूपमा ठूलो तलाउ बनेको धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिएका छन्।
गाउँपालिका–४ र ७ को सिमानास्थित काउसीबोटको भिरमुनि थुप्रिएको पहिरोका कारण म्याग्दी नदीको सतह घटेको छ। स्थानीय बासिन्दा तम पुनका अनुसार बिहानको भारी वर्षापछि बगेको नदीको बहाव अचानक घटेको देखिएको हो।
हाल पहिरो निरन्तर खसिरहेकाले थप जोखिम कायम रहेको जनाइएको छ। घटनालगत्तै छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजारजस्ता म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरूमा सतर्कता अपनाइएको छ।
धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मी घटनास्थलतर्फ गएका छन्।
अध्यक्ष पुनका अनुसार घटनास्थल पुगेपछि बनेको तलाउको आकार र सम्भावित जोखिमको आकलन गर्न सकिनेछ। उनले तलाउ एकैचोटि फुटेमा तटीय क्षेत्रमा बाढी र कटानको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत सबैलाई सतर्क रहन आग्रह गरेका छन्। धौलागिरी हिमालबाट सुरु भएको म्याग्दी नदी बेनी बजार हुँदै कालीगण्डकीमा मिसिन्छ।