काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी नयाँ फिल्म ‘जहाजैमा’ मा अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार उनीसँग लिखित सम्झौता गरेको हो। फिल्मको कथा र टिम मन परेको कारण वर्षा शिवाकोटीले यसमा काम गर्न सहमति जनाएकी हुन्। उनले उत्कृष्ट टिमसँग काम पाएकोमा खुशी व्यक्त गरेकी छिन्।
यसअघि ‘माग्ने बुढा’ का केदार घिमिरे, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया फिल्ममा सहभागी भइसकेका छन्। अन्य कलाकारहरूको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् भने छायांकन निर्देशन पुरुषोत्तम प्रधानले गर्नेछन्। उज्ज्वल गुरागाईंको यूएनए प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म केपी फिल्म्सको सहकार्यमा निर्माण हुँदैछ।
छायांकन आगामी भदौदेखि जापानमा सुरु हुने योजना छ भने नेपाल, जापान र फिलिपिन्समा छायांकन गरिनेछ।
निर्माण पक्षले फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरिसकेको छ। आरआर फिल्म्ससँग सहकार्यमा आउँदो फागुन १ गते देशभर फिल्म प्रदर्शन गरिनेछ। फिल्मको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।