काठमाडौं । फिल्म ‘मैझारो’को शुभमुहूर्तसँगै बिहीबारदेखि छायांकन सुरु गरिएको छ। फिल्मको छायांकन नेपालकै पूर्वी पहाडी जिल्ला इलामबाट सुरु गरिएको हो।
फिल्मको निर्देशन अभिनेता विल्सन विक्रम राईले (तक्मे बुढा) गरेका छन्। यो फिल्ममार्फत उनले निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको छायांकन इलाम र पाँचथरका विभिन्न स्थानमा हुने बताइएको छ। निर्देशक राईका अनुसार फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ।
फिल्ममा धीरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, बुद्धि तामाङ, अभयराज बराल, उदय सुब्बा, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायतको अभिनय रहनेछ।
फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने छन्। स्वर राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङले दिनेछन्। छायांकनको जिम्मा सौरभ लामाले लिएका छन्।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बन्न लागेको यो पहिलो फिचर फिल्म हो।