काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मामाथि लक्षित गर्दै तीव्र व्यंग्य गरेका छन्।
बुधबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औं स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र कतिपय नेताहरू “सिङ्गौरी खेल्न” चाहेको टिप्पणी गरे।
उनले नाम नलिइकन उपमहासचिव शर्मातर्फ संकेत गर्दै भने, “अहिले पनि कति साथीहरूले ल त भनेर अलिलि सिङ्गौरी खेल्न पाए हुन्थ्यो भन्ने जस्तो गर्नुभएको छ। उहाँहरूलाई म प्रशस्त सिङ्गौरी खेल्न दिएको छु। जति मन लाग्छ, खेल्नुस् भनेको छु।”
अध्यक्ष दाहालले आफूले नेतृत्वको हैसियतमा कसैलाई पनि दमन नगरेको र भिन्न मतप्रति सधैं सहिष्णुता देखाउँदै आएको दाबी गरे। “मेरो कमजोरी भनेको भिन्न मतलाई दमन नगर्ने हो। आलोचना धेरै भइहाल्छ। मैले कसैलाई पार्टीबाट निकालेको छैन – चाहे त्यो कमरेड किरण होस्, बाबुराम होस्, बादल होस् वा अरू कोही,” उनले स्पष्ट पारे।
दाहालले विगतमा पनि पार्टीभित्र आलोचना, असहमति र बहसका लागि वातावरण दिँदै आएको बताए। “अस्ति डेढ महिना परामर्श भन्दै देशभरि लिएरै हिँडे मैले। योभन्दा बढी जनवाद के हो?” उनले प्रश्न गरे।
यसअघि मङ्गलबार उपमहासचिव शर्माले एक कार्यक्रममा नेतृत्व हस्तान्तरणको विषय उठाउँदै अध्यक्ष दाहालप्रति अप्रत्यक्ष रूपमा आलोचना गरेका थिए। त्यसको जवाफस्वरूप दाहालको “सिङ्गौरी खेल्न दिएको छु” भन्ने टिप्पणी आएको हो।
पार्टी नेतृत्वमा पुस्तान्तरण र आन्तरिक असन्तुष्टिका सन्दर्भमा दाहाल र शर्माबीचको यो बयानबाजीले माओवादी केन्द्रभित्र शक्ति सन्तुलनको बहस फेरि चर्किने संकेत देखिएको छ।