काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको आन्तरिक कार्यसम्पादनलाई पारदर्शी र जिम्मेवार बनाउन स्वमूल्यांकन प्रणाली लागू गर्ने तयारी गरेको छ। त्यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाएको छ।
मस्यौदामा राजनीतिक दलहरूको मूल्यांकनका लागि विभिन्न सूचकहरू तोकिएको छ। संगठनात्मक संरचनाका लागि ८ अंक, आन्तरिक व्यवस्थापनमा २२ अंक, दलको जिम्मेवारीमा १५ अंक, लैङ्गिक तथा समावेशी व्यवस्थामा १० अंक, कोष व्यवस्थापन र लेखा परीक्षणमा २० अंक, निर्वाचनमा सहभागिता तथा प्रतिनिधित्वमा १५ अंक र अन्य राजनीतिक पक्षका लागि १० अंक सहित कुल १०० अंकको संरचना प्रस्ताव गरिएको छ।
आयोगका अनुसार मूल्यांकनका क्रममा दलहरूले विधानअनुसार केन्द्रीय, प्रदेश र स्थानीय तहका समिति गठन गरेका छन् वा छैनन्, नियमित रूपमा पदाधिकारीको आवधिक निर्वाचन गरेका छन् वा छैनन् भन्नेबारेमा विश्लेषण गरिनेछ।
आन्तरिक व्यवस्थापन पक्षमा सदस्यताको अद्यावधिक विवरण, नियमित बैठकको आयोजना तथा निर्णयको कार्यान्वयन, आर्थिक पारदर्शिता, छुट्टै कोष तथा बैंक खाता सञ्चालनजस्ता पक्षको मूल्यांकन गरिने छ। साथै, २५ हजार रुपैयाँभन्दा माथिको सहयोग बैंकिङ प्रणालीमार्फत लिएको वा नलिएको र एक लाख रुपैयाँभन्दा बढीको चन्दामा स्रोत खुलाएको वा नखुलाएकोसमेत जाँच गरिनेछ।
दलका पदाधिकारीहरूको योग्यता, दलको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ वा छैन भन्ने विषयहरू पनि मूल्यांकनमा समेटिने छन्।
आयोगका अधिकारीहरूका अनुसार, राजनीतिक दलहरूलाई थप जिम्मेवार र जनमुखी बनाउन यो पद्धति लागू गर्न लागिएको हो। सरोकारवालाबाट सुझाव लिएर कार्यविधिलाई अन्तिम रूप दिने प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ।