हेटौंडा। बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार दिउँसो बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन्।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ एमालेसहितका कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। बागमतीमा ११० सदस्यीय प्रदेशसभा छ।
यसअघि उनी संघीय सरकारमा गृह राज्यमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यो उनको प्रदेशसभा सदस्यको दोस्रो कार्यकाल हो।
हालैको राजनीतिक उतारचढावमा बानियाँ आफैं पार्टीको संसदीय दलको नेताबाट पराजित भएका थिए। तर साढे दुई वर्षपछि पुनः बहुमतको समर्थन जुटाउँदै बहादुर सिंह लामालाई हटाएर मुख्यमन्त्री बन्न सफल भएका हुन्।
बानियाँको नेतृत्वमा २१ जना सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। मतदानमा प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो। त्यसपछि लामाले दलको नेताबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्री नियुक्तिपछि बानियाँले प्रदेशको विकास, स्थायित्व र समावेशी प्रशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।