काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रिया समयमै र कानूनी नियम अनुसार अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र जारी गरेको छ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ अनुसार, कर्मचारी सरुवा हरेक वर्ष भदौ १ गतेदेखि भदौ मसान्तसम्म सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आवश्यक विवरण तोकिएको ढाँचामा पठाउन सबै निकायलाई निर्देशन दिएको हो।
सरुवा चाहने कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गरी २०८२ साउन मसान्तभित्र मन्त्रालयको इमेल ठेगानामा नियमावलीको अनुसूची ९ अनुसार निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, सबै मन्त्रालय, आयोग, सचिवालय तथा अन्य निकायहरूले मातहतका कर्मचारीहरूको व्यक्तिगत विवरण राष्ट्रिय किताबखाना (निजामती)सँग समन्वय गरी सात दिनभित्र अद्यावधिक गर्नुपर्ने भनिएको छ।
मन्त्रालयले पारदर्शी र प्रभावकारी सरुवा प्रक्रिया सुनिश्चित गर्न यो निर्देशन जारी गरेको र सबै सरोकारवालालाई तोकिएको म्यादभित्र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। यसले कर्मचारी व्यवस्थापनमा एकरूपता ल्याउने तथा सेवा वितरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।