काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले आगामी असोज ३० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। तर, अस्पताल प्रशासनले भने उनले राजीनामा नभई बिदा मात्र मागेको दाबी गरेको छ।
व्यक्तिगत कारण देखाउँदै विदेशबाटै राजीनामा घोषणा गरेका डा. कोइरालाले १६ अक्टोबर २०२५ सम्म केन्द्रमा उपस्थित हुन नसक्ने र आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रमा कुनै जरुरी वा गोप्य कागजात नरहेको स्पष्ट पारेका छन्।
राजीनामा पत्रमा उनले गंगालाल अस्पतालमा बिताएका २५ वर्षको अनुभव सम्झँदै, “शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्रका रूपमा देशलाई गौरवान्वित गर्ने मौका दिनेछ भन्नेमा विश्वास छ, र म सल्लाह–सुझावका लागि सधैं उपलब्ध हुनेछु,” भनेका छन्। साथै, उनले पूर्व स्वास्थ्य मन्त्री गगन थापा, हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेल लगायतको सपना र संघीय सरकारको स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्।
तर, अस्पतालका कार्यकारी निर्देशक डा. रवि मल्लका अनुसार, डा. कोइरालाले छोरीसँग भेट गर्न ४१ दिनको घरायसी बिदा मागेका मात्र हुन्। “उहाँको छोरी अमेरिकामा बस्नुहुन्छ। भेट गर्नका लागि बिदा मागेर जानुभएको हो,” मल्लले भने।
डा. कोइरालाले यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए। तर, सरकारले सो पदमा उनलाई नियुक्ति नदिएपछि असन्तुष्ट भई राजीनामा दिएको बुझिएको छ।