काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले अग्निपीडित परिवारलाई नष्ट भएको घर पुनर्निर्माणका लागि निर्माण सामग्री हस्तान्तरण गरेको छ ।
बुधबार गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको निर्देशनमा ४२ थान जस्तापाता, ४ केजी काटी र ४२ फुटे प्लेनपाता हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, जिन्शी शाखा प्रमुख किरण राई, प्रशासन शाखा प्रमुख किरणजंग भुजेल, शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।
गत बैशाख महिनामा हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४, गुडखोलाका ३५ वर्षीय डिलबहादुर पुलामीको घर ब्याट्री पड्किएर लागेको आगलागीमा जलेर पूर्णरूपमा नष्ट भएको थियो । यसअघि पनि आगलागी प्रभावित स्थानमै पुगेर अध्यक्ष वाइबाले, जो विमला फाउण्डेशनका संरक्षक समेत हुन् । फाउण्डेशनको तर्फबाट पीडित परिवारलाई २२ हजार ३ सय रुपैयाँ नगद, ३० मुरी धान र मकै सहयोग गरेका थिए ।
अध्यक्ष वाइबाले आफ्नी स्वर्गीय बहिनी विमला वाइबाको सम्झनामा स्थापना गरिएको फाउण्डेशनले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको बताएका छन् । उनका अनुसार, विपद्मा परेका पीडितलाई सहयोग पु¥याउने उद्देश्यले फाउण्डेशन स्थापना गरिएको हो ।