काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहितका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
यसअघि विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भनिएको भ्रष्टाचार मुद्दामा अर्यालसहितका प्रतिवादीलाई सफाइ दिएको थियो। उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियारले पुनरावेदन दर्ता गरेको हो।
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र तत्कालीन निर्देशक सफल श्रेष्ठलाई मात्र दोषी ठहर गरेको थियो। मुद्दामा संलग्न १२ जना प्रतिवादीहरूसँग ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवाना मागदाबी गरिएको आयोगले जनाएको छ। डा.अर्याल सो घटनाक्रमका समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहेका थिए।