काठमाडौं । ४ भाई इन्टरटेन्मेटको प्रस्तुतीमा मेरील्याण्डको गेथेस्बर्गमा नेपाली चलचित्रका सुपर स्टार नायक प्रदीप खड्का सङ्ग “मिट एण्ड ग्रीट विथ प्रदीप खड्का” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा करीब ७०–८० जनाले सहभागी भएर नायक खड्कासँग उनको फिल्मी क्यारीएर, व्यक्तिगत जिवनी र नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानबारे प्रत्यक्ष बुझ्ने मौका पाए। सो कार्यक्रममा दर्शकहरूले प्रदीपलाई विभिन्न प्रश्न सोध्ने, फोटो खिच्ने र टिक टक बनाउने क्रम निकै रोचक र भिडभाडपूर्ण भएको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै नायक प्रदीप खड्काले दर्शक र शुभेच्छुकबाट पाएको मायाले आफूलाई अझ भावुक बनाएको बताए। उनले कलाकार प्रतिको सम्मान र समर्थनले आफूमा थप जोश र जिम्मेवारी बढाएको अनुभव भएको बताए। सहभागी नेपाली कलाप्रेमीहरूले समेत परदेशमा नेपाली कलाकारसँग प्रत्यक्ष भेट्न पाउँदा निकै खुशी लागेको जनाउँदै आयोजक ४ भाई इन्टरटेन्मेन्टलाई धन्यवाद दिएका छन्।
आयोजक ४ भाई इन्टरटेन्मेन्टका प्रमुख दिवश बनले यो कार्यक्रम पहिलो पटक आयोजना गरिएको भए पनि अत्यन्तै सफल भएको बताए। उनले यसलाई नेपाली कलाकार र कलालाई विश्वभर चिनाउने सफल प्रयासका रूपमा लिएको बताए। उक्त कार्यक्रममा नेपाली चलचित्रका चर्चित प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाको संयोजन रहेको थियो भने रियल्टर सन्तोष कोइरालासहित विभिन्न व्यक्तिहरूले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम सफल भएपछि आयोजक संस्था झन् उत्साहित भएको छ। आयोजकमध्येका एक उत्सव रिमालले अब चाँडै नै डीएमभी क्षेत्रमा वृहत सांगीतिक कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए। आयोजकले यस किसिमका कार्यक्रमहरूले परदेशमा रहेका नेपालीलाई आफ्नो कला, संस्कृति र कलाकारसँग जोड्ने पुलको काम गर्ने विश्वास व्यक्त गरेका छन्।