काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ । उनको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् । न्यौपाने पनि सोही समितिकी सदस्य हुन् ।
आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उनले दिउँसो ३ः०० बजे मनोनयन दर्ता गराएका हुन् । सभापतिमा उनको उम्मेद्वारी दर्ता गराउन नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला समेत जनाएका थिए ।
समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उनी निर्विरोध भएको घोषणा गरिने छ ।