काठमाडौं । रुपन्देही क्षेत्र– ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजङ्ग थापाले आफ्नो व्यक्तिगत जीवनबारे सार्वजनिक प्रश्न उठेपछि पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेद कागजात सार्वजनिक गरेका छन्।
थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्धविच्छेद गर्दै मिलापत्र गरिएको कागजात सार्वजनिक गरेका हुन्।
रास्वपाबाट नौ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेका थापा माथि बहुविवाहसम्बन्धी प्रश्न उठेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो निजी जीवनबारे खुलासा गर्दै पारिवारिक जीवन कानुनसम्मत रहेको स्पष्ट पारे।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “माथि भएको प्रश्न र आक्रमण मेरो व्यक्तिगत जीवनमाथि मात्र होइन, सुसंस्कृत राजनीति गर्न चाहने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित आक्रमण हो।”
उनले जीवनका परिस्थितिजन्य कारणले दुई पटक विवाह भएको र पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेद कानुनी प्रक्रिया पुरा गरेर गरिएको बताएका छन्। साथै, सम्बन्धविच्छेदपछि पनि सन्तानको भविष्यका लागि पूर्वपत्नीहरूसँग स्वस्थ र मित्रवत् सम्बन्ध कायम राख्ने पक्षमा आफू रहेको स्पष्ट पारे।
न्युरोचिकित्सकका रूपमा १४ वर्ष लामो करियर बनाएका थापाले राजनीतिको उद्देश्य देशमा देखिएका विकृतिबाट असन्तुष्ट भएर रूपान्तरणकारी परिवर्तन ल्याउने रहेको बताए। उनले उम्मेदवार बन्ने निर्णय बहुआयामिक ३५ दिन लामो छनोट प्रक्रियाबाट आएको र पार्टीले गर्ने कुनै पनि निर्णयलाई आफूले स्वीकार्ने बताएका छन्।
उनले लेखेका छन् … एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।
सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।’