काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आलोचना दबाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको आरोप लगाएका छन्।
शुक्रबार आफ्नै आधिकारिक फेसबुक पेजमार्फत प्रचण्डले सूचीकृतमा नआएका फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णयको कडा आलोचना गरेका हुन्।
उनले लेखेका छन्, “वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ। यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गरेको छ।”
प्रचण्डले सरकारको कदम संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई सामाजिक सञ्जाल प्रकाशन तथा प्रसारणसम्बन्धी कानुनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत भएको आरोप लगाए। उनका अनुसार यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको छ।
प्रचण्डले आफ्नो पार्टी सामाजिक सञ्जालको नियन्त्रण नभई उचित नियमनको पक्षमा रहेको स्पष्ट पार्दै संसद्मा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुपर्नेमा जोड दिए। कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक कदम भएको उनको भनाइ छ।