काठमाडौं । क्रिकेटर सन्दीप लामिछानलाई क्रिकेट खेल्न विदेश लैजान पाउनुपर्ने भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ। क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई विदेश लैजानेबारे पहल गरिदिन भन्दै पत्र पठाइएको बताए।
क्यानको पत्रपछि राखेपले अदालतसमक्ष आग्रह गरेर विदेश पठाउने बाटो खुला हुने विश्वास क्यानले लिएको छ। योसँगै खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै सन्दीपको तर्फबाट समेत सर्वोच्चमा रिट दायर गर्ने तयारी भएको छ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ। सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता सरोज घिमिरेले रिट दायर गर्न लागेका हुन्।