काठमाडौं । देशभर प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावली सङ्कलनको काम चलिरहेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, मतदाता नामावली सङ्कलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन्।
आयोगले चुनावका लागि ७९ प्रकारका सामग्री आवश्यक पर्ने सूची बनाएको छ। यसमा मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, स्वस्तिक चिन्ह छाप, स्ट्याम्प प्याड र मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैंची, फारमलगायतका सामग्री समावेश छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आवश्यक पर्ने ७९ मध्ये १४ वटा सामग्री खुला प्रतिष्पर्धाबाट खरिद गर्ने तयारीमा रहेको बताए। उनले मतपत्र छपाईका लागि आवश्यक कागज र मतपेटिकाहरु आयोगसँग पर्याप्त स्टकमा रहेकोले नयाँ खरिद आवश्यक नहुने पनि स्पष्ट पारे ।
अन्तरिम सरकारले आउँदो फागुन २१ का लागि प्रतिनिधिसभा चुनाव घोषणा गरेसँगै आयोगले आवश्यक वातावरण तयार पार्न विभिन्न पक्षसँग तीव्र वार्ता र छलफल गरिरहेको छ।
		
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
