काठमाडौं । लमजुङ घर भइ हाल रोजगारीका लागि साउदीमा रहेका सर्जक कमल घिमिरेको नयाँ नौमती बाजामा आधारित लोकगीत ‘लमजुङे ठिटो’ सार्वजनिक गरिएको छ ।
गीतमा मन्जु वि.क र जीवन परियारको स्वर रहेको छ । शब्द तथा संगीत कमल घिमिरेकै रहेको गीतमा नौमती बाजाको मौलिकपन समावेश गरिएको छ । गीतको भिडियोमा हालै सार्वजनिक नेपाली फिल्म ‘मन बिनाको धन ठूलो’ मा अभिनय गरिसकेका रमेश विश्वकर्मा, कल्पना श्रेष्ठ, मोनिका घिमिरे लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी केसर बीसीले गरेका छन् भने छायांकन र सम्पादन आर्यन श्रेष्ठले गरेका हुन् । गीत मोनिका इन्टरटेन्मेन्टको आधिकारिक यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । लमजुङको बेसिशहर ११ चिति तिलाहरमा जन्मिएका घिमिरे हाल विदेशमा रहेर पनि निरन्तर गीत–संगीतमा सक्रिय छन् ।
यसअघि पनि ‘लमजुङ चिती घर’, ‘माछी तालमा छ मामाली’, ‘तनहुँ लाहुरेको छोरी’, ‘चौतारीको बर’, ‘लमजुङ झरौँला’ जस्ता गीत ल्याइसकेका घिमिरेले यसपटक विवाहको माहोल झल्काउने शैलीमा नयाँ गीत बजारमा ल्याएका छन् । घिमिरेले दर्शक–श्रोतालाई आफ्ना पुराना गीत झैँ यस गीतलाई पनि माया र समर्थन प्रदान गर्न अनुरोध गरेका छन् ।
हेर्नुहोस् भिडियो

