काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आजदेखि सुरु भएको छ ।
निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्नुपर्नेछ ।
निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन २४ मंसिर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । १३ र १४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नेछन् ।
२० माघ बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

