काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी पुनः दोहोर्याएका छन्। शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारका कारण आफू अन्यायमा परेको आरोप लगाए।
लामिछानेले आफूविरुद्ध प्रतिशोध साँध्ने सरकार नै अन्ततः भाग्न बाध्य भएको टिप्पणी गरे। ‘माथि प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भागेको छ,’ उनले भने। तर आफूले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारे। ‘ढुक्क हुनुस्, मबाट प्रतिशोधको राजनीति हुँदैन,’ उनले भने, ‘म लोकतन्त्रमा विश्वास गर्छु।’
आफूलाई लोकतन्त्रले होइन, अपराधी र षड्यन्त्रकारीहरूले थुनेको दाबी गर्दै लामिछानेले सरकारका कदम लोकतान्त्रिक नभएको आरोप लगाए। ‘मलाई लोकतन्त्रले थुनेको होइन, अपराधी र षड्यन्त्रकारीहरूले थुनेका हुन्। यी लोकतन्त्र होइनन्,’ उनले भने।
उनले देशमा लोकतन्त्र अझै जीवित रहेको दाबी गर्दै जनताको समर्थन र विश्वासकै बलमा आफू अगाडि बढ्ने बताए। कार्यक्रममा सहभागी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

