काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियामा धेरै अघि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन्।
शुक्रबार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै भण्डारीले भने, “निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयको छलफल सकिसक्यो। अब हामी निर्वाचनको बाटोमा प्रवेश गरिसक्यौँ र फर्किन सक्ने अवस्था छैन।”
निर्वाचनको विकल्प नभएको उनले जोड दिंदै भने, निर्वाचनको वातावरण बिथोल्ने प्रयास भएमा सञ्चारमाध्यममार्फत आयोगलाई सचेत गराउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ। साथै, राजनीतिक दलहरूको गतिविधि र भूमिकामा पनि ध्यान दिन उनले अनुरोध गरे।
भण्डारीले स्मरण गराए, राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनकै समयमा संविधानअनुसार निर्वाचन गरिनुपर्ने कुरा उठाएका थिए। उनले भने, “संविधानको संरक्षण तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचन बाहेक अर्को विकल्प छैन। मुलुकले थप आन्दोलन थेग्न सक्दैन।”
आयोगले सबै नागरिकलाई सक्रिय रूपमा सहभागी भई सक्षम व्यक्तिहरूलाई संसद्मा पठाउन आग्रह गरेको छ।

