काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले २३ भदौको आन्दोलनमा गाेली प्रहार गर्न वा कुनै प्रकारका बल प्रयोग गर्न आफूले आदेश नदिएको बताएका छन्। सोमबार जाँचबुझ आयोगमा बयानपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखकले प्रदर्शन राेक्न गृहमन्त्री वा प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश दिने कानुनी व्यवस्था नै नरहेको स्पष्टीकरण दिए।
‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने कुनै खालको लिखित, मौखिक कुनै आदेश दिएको छैन, दिनुपर्ने कारण छैन, कानुनी व्यवस्था छैन’, उनले भने।
प्रदर्शन कसरी नियन्त्रण गर्ने भन्ने जिम्मेवारी कानुनले प्रष्ट रुपमा तोकेको उल्लेख गर्दै लेखकले भने, ‘कुनै पनि प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कस्तो अवस्थामा बल प्रयोग गर्ने, बल प्रयोग गर्दा त्यसका चरणबद्ध तरिकाहरु कसरी अपनाउने, बल प्रयोग गर्ने वा नगर्ने भन्ने कुरा कानुनले प्रष्ट रुपले पदाधिकारीहरुलाई जिम्मेवारी दिएको छ।’ यद्यपि, गृह मन्त्रालयको राजनीतिक नेतृत्व लिएकाले आफूले नैतिकताको आधारमा तत्काल राजिनामा गरेको लेखकले प्रष्ट पारे।

