काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनले आजकै मितिदेखि लागू हुने गरी प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गरेका हुन्।
२०८२ भदौ ३० गते जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा मन्त्री नियुक्त भएका घिसिङले छोटो कार्यकालमै सुशासन, काम नगरी वर्षौंदेखि अलपत्र पारिएका विकास आयोजनाको निरुत्साहन, ऊर्जा तथा पूर्वाधार क्षेत्रको सुधारमा इमानदार प्रयास गरेको उल्लेख गरेका छन्।
राजीनामा पत्रमार्फत घिसिङले प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, कर्मचारी र सरोकारवाला सबैप्रति सहयोग, विश्वास र सहकार्यका लागि आभार व्यक्त गर्दै भविष्यमा पनि देश र जनताको हितमा जुनसुकै जिम्मेवारी निर्वाह गर्न सधैं तयार रहने प्रतिबद्धता जनाएका छन्।


