काठमाडौं । हृदयघातका कारण अभिनेता तथा गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षको उमेरमा निधन भएका तामाङ नेपाली र भारतीय दर्शकमाझ चर्चित कलाकार हुन्।
तामाङले भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टिभीको रियालिटी शो ‘इन्डियन आइडल २००७’ जितेर व्यापक चर्चा कमाएका थिए। शोमा सहभागी हुँदा उनी भारतीय प्रहरीमा कार्यरत थिए। उनका पिता प्रहरी सेवामै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि तामाङलाई कोलकाता प्रहरीमा सेवा गर्ने अवसर प्राप्त भएको थियो।
भारतको दार्जिलिङस्थित तुङ्सुङमा जन्मिएका तामाङले जीवनमा कहिल्यै औपचारिक रूपमा संगीतको शिक्षा लिएका थिएनन्। ‘इन्डियन आइडल’ जितेपछि उनले व्यावसायिक गायन यात्रा सुरु गरेका थिए। सोही क्रममा पहिलो पटक नेपालमा पोखरा र काठमाडौंमा कन्सर्ट गरेका उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’ बाट अभिनयमा डेब्यु गरे।
त्यसपछि उनी नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’ मा देखिए। उनको पछिल्लो नेपाली फिल्म ‘परदेशी २’ हो। उनले अभिनय गरेका तीनवटै नेपाली फिल्महरू व्यावसायिक रूपमा सफल मानिन्छन्।
‘परदेशी’ र ‘परदेशी २’ का निर्माता राजेश बंशलका अनुसार तामाङ हाल सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा काम गरिरहेका थिए, जहाँ उनले चिनियाँ सेनाको भूमिका निर्वाह गरेका छन्। उक्त फिल्मको डबिङ अझै बाँकी रहेको बताइन्छ।
“डबिङका लागि चिनियाँ भाषा सिक्ने तयारी गर्दैछु दाइ भन्थे,” बंशलले भने, “आज मृत्युको खबर सुन्दा पत्याउनै गाह्रो भयो।” परिवारबाट पुष्टि भएपछि मात्रै विश्वास गर्नुपरेको उनले बताए। बंशलका अनुसार तामाङ सहयोगी, मिलनसार र अत्यन्त मिहिनेती व्यक्ति थिए।

