काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र आजबाट सुरु हुँदैछ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सुरु गरेको विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार सम्पन्न भएको थियो। उद्घाटन सत्रमा महामन्त्रीभन्दा माथिल्लो तहका नेताहरूको सहभागिता भने देखिएको थिएन।
बन्द सत्रमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुने भन्दै प्रचार भए पनि उक्त सूचना सत्य नभएको देउवाको सचिवालयले स्पष्ट पारेको छ। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएका हुन्।
देउवाको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।’
महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको प्रारम्भमा विशेष महाधिवेशनको कार्यविधि निर्माणसम्बन्धी तालिका प्रस्तुत गरिनेछ। त्यसपछि ९ वटा समूह बनाएर विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र समसामयिक विषयहरूमा छलफल हुने उनले जानकारी दिए।
महाधिवेशन प्रतिनिधिको नाम दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने बताइएको छ। कांग्रेस स्रोतका अनुसार बाहिर दाबी गरिएजस्तो हालसम्म महाधिवेशन प्रतिनिधिको नामावली दर्तामा बहुमत पुगेको छैन।

