काठमाडौं । राष्ट्रिय सभाको १८ सिटका लागि भएको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनले क्लिन स्विप गरेको छ। कोशी प्रदेशमा खस-आर्यतर्फको एउटा सिटमा कांग्रेसका सुनील थापा निर्विरोध भइसकेकोमा आइतबार बाँकी १७ सिटका लागि मतदान भएको हो। १७ सिटका लागि ४४ जनाले उम्मेदवारी दिएकोमा एमालेले आठ, कांग्रेसले आठ र जसपा नेपालले एक सिटमा जित निकालेकाे हाे।
कोशीमा नेकपा एमालेकी रोशनी मेचे (महिला) र एमालेकै सोमनाथ पोर्तेल (दलित) निर्वाचित भए। कांग्रेसका सुनील थापा (खस-आर्य) यसअघि नै निर्विरोध निर्वाचित भएका हुन्।
मधेशमा पनि गठबन्धनले जित निकालेको छ। एमालेकी रेखा झा (महिला), कांग्रेसका रंजित कर्ण (अल्पसंख्यक), कांग्रेसकै धर्मेन्द्र पासवान (दलित) र जसपा नेपालका महन्थ ठाकुर (अन्य) निर्वाचित भए।
बागमतीमा नेपाली कांग्रेसकी गीता देवकोटा (महिला) र नेकपा एमालेका डा. प्रेमप्रसाद दंगाल (अन्य)ले जित निकाल्दा गण्डकीमा समेत अन्य दलका उम्मेदवार पराजित भए। गण्डकीमा ‘अन्य’ क्लस्टरबाट नेपाली कांग्रेसका प्रा.डा. जगत तिमिल्सिना र ‘महिला’ क्लस्टरबाट नेकपा एमालेकी सम्झना देवकोटा निर्वाचित भएका हुन्।
यसैगरी, लुम्बिनीमा नेपाली कांग्रेसका वासुदेव जंगली (अपांग), कांग्रेसकै चन्द्रबहादुर केसी (खुला) तथा एमालेकी रामकुमारी झाँक्री (महिला) विजयी भए।
कर्णालीमा एमालेकी मीनासिंह रखाल (खुला) र कांग्रेसका ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिममा कांग्रेसका खम्मबहादुर खाती (अन्य) र एमालेकी लीलाकुमारी भण्डारी (महिला) राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

