काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सोमबार समानुपातिकतर्फका दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएसँगै सोमबारदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको छ।
यसअघि केन्द्रले १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको थियो। ती नमुना मतपत्रहरू मतदाता सचेतना तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका छन्।
निर्वाचन आयोगले निर्धारित समयमै सम्पूर्ण मतपत्र छपाइ सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ।

