अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका नवनियुक्त नेतृत्वलाई राजस्व संकलनको लक्ष्य पूरा गर्न इमानदारी, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनका साथ अघि बढ्न निर्देशन दिएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित भेटघाटमा अर्थमन्त्री वाग्लेले यमलाल भुसाल, डा भीष्मकुमार भुसाल तथा प्रेमप्रसाद आचार्यलाई नयाँ जिम्मेवारी सम्हाल्नुअघि बधाई दिँदै ‘मिसन १६ खर्ब’ राजस्व संकलन सफल बनाउन चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि र करदातामैत्री वातावरण निर्माणमा विशेष जोड दिन आग्रह गरे।
उनले भन्सार र कर प्रशासनलाई सूचना प्रविधिसँग आबद्ध गरी अझ चुस्त, पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिँदै आन्तरिक आय वृद्धि भए मुलुकको बाह्य ऋणप्रतिको निर्भरता घट्ने र आफ्नै स्रोतमा आधारित विकासलाई गति दिन सकिने बताए।
अर्थमन्त्रीका अनुसार राजस्व लक्ष्य हासिल गर्ने क्रममा व्यवसायीमैत्री वातावरण कायम राख्दै कर तथा भन्सार प्रणालीमा हुने चुहावट रोक्नु मुख्य प्राथमिकता हुनुपर्नेछ।
उल्लेखनीय छ, असार १८ गतेको मन्त्रिपरिषद् बैठकले तीनै सहसचिवलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। त्यसपछि असार २२ गते मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल, आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा भीष्मकुमार भुसाल तथा भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी तोकेको हो।

