काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भारतीय कलाकारहरूले दुःख व्यक्त गर्दै नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाएका छन्।
बलिउड अभिनेता सोनू सूदले बुधबार साँझ सामाजिक सञ्जालमार्फत नेपालप्रति समर्थन जनाएका थिए। उनले विपद्बाट प्रभावितका लागि खाना, आश्रय तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, अर्का बलिउड अभिनेता सञ्जय दत्तले इन्स्टाग्राम स्टोरीमार्फत बाढी प्रभावित नेपालीहरूप्रति दुःख व्यक्त गरेका छन्।
उनले विपद्बाट प्रभावित सबैका लागि आफ्नो सोच र प्रार्थना रहेको उल्लेख गर्दै कठिन समयमा नेपालीहरूसँगै रहेको बताएका छन्। आफूले सक्ने जुनसुकै तरिकाले सहयोग गर्न सधैँ तयार रहेको उल्लेख गर्दै उनले प्रभावितलाई सुरक्षित रहन र बलियो बन्न आग्रह गरेका छन्।
बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सामाजिक सञ्जालमार्फत नेपालका लागि प्रार्थना गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन्।
त्यस्तै, नेपाली मूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रवल गुरुङले सामाजिक सञ्जाल एक्समार्फत बाढीको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले विपद्मा ज्यान गुमाएका, शोकमा रहेका तथा विस्थापित भएका सबैका लागि आफूले प्रार्थना गरिरहेको बताएका छन्।
केही घण्टाअघि मात्रै तातोपानी नाकामा थिएँ : अंकुर रतन
बलिउड अभिनेता तथा मोडल अंकुर रतनले आफू मंगलबार नेपाल–तिब्बत सीमा क्षेत्रको तातोपानी नाकामा रहेको जानकारी दिएका छन्। उनले त्यहाँ खिचेको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
अंकुरका अनुसार उनी कैलाश मानसरोवर यात्राका क्रममा श्रीमती र एक आफन्तसँगै तातोपानी पुगेका थिए। उनले केही दिनअघि मात्रै परिवारसँग त्यहाँ तस्बिर खिचिरहेको बताएका छन्।
बाढी आउनुभन्दा केही घण्टाअघि मात्रै उक्त स्थानबाट निस्किन पाएकोमा आफू कृतज्ञ रहेको उनले बताएका छन्।
‘हामी घटनाभन्दा केही घण्टाअघि नै उक्त स्थानबाट निस्किसकेका थियौँ। त्यसका लागि म कृतज्ञ छु,’ उनले भनेका छन्।
तर, विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारको पीडाले आफूलाई निकै दुःखी बनाएको उनको भनाइ छ। उनले घटनाबाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै विपद्को यस घडीमा आफूहरूको साथ र प्रार्थना रहेको बताएका छन्।

